दफा १२
प्राज्ञ सभाको गठन
(१) प्रज्ञा प्रतिष्ठानमा सर्वोच्च निकायको रूपमा एक प्राज्ञ सभा रहनेछ ।
(२) प्राज्ञ सभाको गठन देहाय बमोजिम हुनेछः–
(क) कुलपति – अध्यक्ष
(ख) सहकुलपति – उपाध्यक्ष
(ग) उपाध्यक्ष–राष्ट्रिय योजना आयोग – सदस्य
(घ) उपकुलपति – सदस्य
(ङ) विश्वविद्यालयहरूका उपकुलपतिहरू मध्ये कुलपतिबाट मनोनीत बढीमा दुई जना – सदस्य
(च) प्रचलित कानून बमोजिम स्थापित विज्ञान तथा प्रविधि सम्बन्धी व्यावसायिक संघ संस्थाहरूका अध्यक्षहरू मध्ये कुलपतिबाट मनोनीत तीन जना – सदस्य
(छ) प्रज्ञाप्रतिष्ठानमा कार्यरत वैज्ञानिक तथा प्राविधिक कर्मचारीहरू मध्ये कुलपतिबाट मनोनीत दुई जना – सदस्य
(ज) प्राज्ञहरूमध्येबाट समावेशीतालाई ध्यानमा राखी महिलाहरू समेतको उपयुक्त प्रतिनिधित्व हुने गरी कुलपतिबाट मनोनीत सत्ताइसजना – सदस्य
तर त्यसरी मनोनयन गर्दा सम्भव भएसम्म समावेशी सिद्धान्तलाई अनुसरण गरिनेछ ।
(ज१) सहप्राज्ञहरूमध्येबाट कुलपतिबाट मनोनीत दुईजना – सदस्य
(ज२) सचिव, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय – सदस्य
(ज३) विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेका नेपाल सरकारका कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूमध्येबाट कुलपतिबाट मनोनीत दुईजना – सदस्य
(ज४) औद्योगिक क्षेत्रका विज्ञान तथा प्रविधिसँग सम्बन्धित व्यक्तिहरूमध्येबाट कुलपतिबाट मनोनीत दुईजना – सदस्य
(झ) प्रज्ञा–प्रतिष्ठानको सचिव – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (ङ), (च), (छ), (ज), (ज१), (ज३) र (ज४) बमोजिमका सदस्यहरूको मनोनयन तोकिए अनुसार उपकुलपतिको सिफारिसमा हुनेछ । निजहरूको पदावधि दुई वर्षको हुनेछ ।
(४) सभाका सदस्यहरूको सुविधा तोकिए बमोजिम हुनेछ ।